पाकिस्तानका पूर्व महान् क्रिकेटर नेपाल आउने

पाकिस्तानका पूर्व महान् क्रिकेटर सक्लेन मुस्ताक नेपाली युवा खेलाडीलाई प्रशिक्षण दिन साता लामो भ्रमणका लागि नेपाल आउने भएका छन् ।

क्रिकेट इतिहासमै उत्कृष्ट स्पिनरको रूपमा रहेका मुस्ताकको नेपाल भ्रमणको बन्दोबस्त ग्रेट हिमालय क्रिकेट एकेडेमीले मिलाएको हो । अप्रिल १४ देखि २१ सम्म ‘मास्टर क्लास विथ सक्लिन मुस्ताक’ नामक कार्यक्रममार्फत उनले युवा क्रिकेटरलाई विशेष प्रशिक्षण प्रदान गर्नेछन् ।

कार्यक्रममा ग्रेट हिमालय एकेडेमीभन्दा बाहिरका इच्छुक क्रिकेटरहरूले पनि सहभागिता जनाउन पाउने आयोजकका अध्यक्ष सुदीप शर्माले जानकारी दिएका छन् ।

‘उपत्यकाबाहिरका खेलाडीले पनि हाम्रो एकेडेमीमा होस्टेलको सुविधासहित यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्,’ आइतबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन् ।

यसै वर्ष इंग्ल्यान्डले एकदिवसीय विश्वकपको उपाधि जित्दा टिमको बलिङ प्रशिक्षक रहेका मुस्ताकको उपस्थितिले नेपाली क्रिकेटरहरूले देशभित्रै अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण र महान् क्रिकेटरको अनुभवबाट प्रेरणा लिन सकुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको ग्रेट हिमालयले प्रस्ट पारेको छ ।

सन् १९९० को दशकमा अन्तर्राष्ट्रिय स्पिन बलिङमा तहल्का मच्चाएका उनलाई दुसरा बलको आविस्कारकको रूपमा लिइन्छ । अफ स्पिन बलिङ गर्दा लेग स्पिनको जस्तै बल टर्न गर्न सक्ने क्षमतालाई दुसरा बलिङको नाम दिइएको हो ।

उनले आफ्नो समयमा सबैभन्दा छिटो १ सय, १ सय ५०, २ सय र २ सय ५० विकेट लिने बलरको कीर्तिमान बनाएका थिए । उनले एकदिवसीय क्रिकेटमा २ ह्याट्रिक विकेट लिएका छन् । त्यसमध्ये एउटा ह्याट्रिक विश्वकप खेलमा सम्भव भएको थियो । मुस्ताकले न्युजिल्यान्ड, वेस्टईन्डिज, अस्ट्रेलिया, बंगलादेश र पाकिस्तानका लागि पनि बलिङ प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।

@Kantipur

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ