नेमारलाई बेच्न पिएसजी तयार हुने

फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन आफ्नो ब्राजिलियन सुपरस्टार नेमारलाई बेच्न खुल्ला हुने जानकारी छ भने उनको लागि माग गर्दै आएको रकम पनि घटाउने योजनामा पिएसजी रहेको जानकारी छ।

पिएसजी र नेमार बिच २०२५ सम्मको सम्झौता रहे पनि पिएसजीमा नेमार र एम्बाप्पे बिचको सम्बन्ध केही समय देखि बिग्रेको छ भने एम्बाप्पेले पिएसजीलाई नेमारलाई बेच्न दबाब दिँदै गर्दा नेमारलाई साइन गर्न केहि प्रिमियर लिग क्लबहरू इच्छुक रहेको थियो।

खबर अनुसार पिएसजीले नेमारको लागि €५० मिलियन देखि €६० मिलियन सम्मको माग गर्न सक्ने छ। उनलाई साइन गर्न प्रिमियर लिग क्लब चेल्सी इच्छुक रहेको छ।

अमेरिकी अरबपति टोड बोहलीले चेल्सीलाई रोमन अब्रामोविच सँग $५ बिलियनमा किने पछि उनी क्लबमा लगानी गर्न तयार रहेका छन् भने पिएसजीका सुपरस्टार नेमारलाई आफ्नो नयाँ क्लबमा भित्राउन टोड धेरै समय देखि इच्छुक रहेका छन्।

चेल्सी सहित उनको नाम न्यूकासल युनाइटेड र म्यानचेस्टर सिटी सँग पनि जोडिएको छ। २०१७मा नेमार €२२२ मिलियनको विश्व रेकर्ड मूल्यमा बार्साबाट पिएसजी आएका थिए भने हाल उनलाई बेच्न पिएसजी तयार रहेको रिपोर्ट छ।

हाल सम्म नेमारले पिएसजीमा १६५ खेल खेल्दै ११५ गोल र ७३ असिस्ट गरेका छन्। पिएसजीमा उनले १२ उपाधिहरू जितेका छन् जसमा चार पटकको लिग उपाधि पनि रहेको छ भने च्याम्पियन्स लिग पिएसजीको मुख्य प्राथमिकता रहे पनि नेमार पिएसजीमा च्याम्पियन्स लिग जित्न असफल रहेका छन्।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ