काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपालले बुधबार घरेलु मैदानमा पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि सरु हुनेछ । यो खेलमा नेपाली टोली घरेलु मैदानको फाइदा उठाउँदै पाकिस्तानलाई हराउने प्रयासमा हुनेछ ।
लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान पनि आफ्नो पुनरागमनलाई सुखद बनाउने लक्ष्यमा छ । फिफाको प्रतिबन्धका कारण उसले सन् २०१८ देखि कुनै अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन ।हालसम्म नेपाल र पाकिस्तानले १७ पटक एकअर्काको सामना गरेका छन् । जसमा पाकिस्तानले सात र नेपालले पाँच खेलमा जितको नतिजा निकालेका छन् । यी दुई टोलीबीचको ५ खेल भने बराबरीमा सकिएकाे छ ।
नेपाल र पाकिस्तानले पहिलोपटक सन् १९८५ मा एकअर्काको समना गरेका थिए । कायदे–ए–आजम कपअन्तर्गत भएको उक्त खेल पाकिस्तानले १–० ले जितेको थियो । पछिल्लोपटक सन् २०१८ को साफ च्याम्पियनसिपमा भएको भेटमा नेपालविरुद्ध पाकिस्तान २–१ ले विजयी भएको थियो ।
विगतमा पाकिस्तानविरुद्ध नेपालको शानदार रेकर्ड छैन । त्यसैले यसपालि घरेलु मैदानमा पाकिस्तानविरुद्ध नेपाललाई जित निकाल्ने मौका छ । यद्यपि नेपाललाई सहज भने पक्कै हुने छैन । नेपाली टिमका नियमित कप्तान किरण चेम्जोङका साथै युवा स्टार मनिष डाँगी छैनन् । पाकिस्तानविरुद्ध नेपाली टोलीको कप्तानी रोहित चन्दले गर्दै छन् ।