नेपाल क्रिकेट संघ (क्यान) को प्रतियोगिता समितिले नेपालमा पाँच तहको क्रिकेट प्रतियोगिता गर्ने प्रस्ताव गरेको छ।
प्रतियोगिता समितिले सोमबार बसेको बोर्ड बैठकमा नेपालमा विद्यालय, क्लब, जिल्ला, क्षेत्र र राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने प्रस्ताव प्रस्तुत गरेको छ।
अघिल्लो महिना क्यानले केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लको संयोजकत्वमा प्रतियोगिता समिति गठन गरेको थियो।
समितिले सुरुमा जिल्लामा यु-१६ स्तरिय विद्यालकस्तरिय प्रतियोगिता गर्ने प्रस्ताव गरेको छ। विद्यालबाहेकका खेलाडीलाई यु-१६ मा समेट्न ट्यालेन्ट हन्ट आयोजना गर्ने समितिको प्रतिवेदनमा उल्लेख छ। त्यसपछि जिल्लाले यु-१६ स्तरीय टिम बनाउनेछ।
यु-१६ पछि यु-१९ को कलेज स्तरिय प्रतियोगिता पनि जिल्लामा नै आयोजना गरिनेछ। प्रतियोगितापछि जिल्लाको यु-१९ टिम बनाइनेछ। टिममा ट्यालेन्ट हन्टबाट आउने खेलाडीलाई पनि स्थान दिइनेछ।
यु-१६ प्रतियोगिता पुरुष र महिलाको हुनेछ। यु-१९ मा पुरुषको मात्र प्रतियोगिता हुनेछ महिलाका लागि ट्यालेन्ट हन्ट वा अन्य प्रतियोगिता आयोजना गरेर यु-१९ टिम बनाइनेछ।
जिल्लाले महिला र पुरुष दुवैको सिनियर टिम पनि बनाउनेछ। जहाँ क्लब स्तरिय प्रतियोगिता हुनेछ।
जिल्लापछि प्रदेश स्तरिय यु-१६, यु-१९ र सिनियर गरी तीन स्तरका महिला र पुरुषका प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरिएको छ।
यस्तै राष्ट्रिय स्तरमा पनि यु-१६, यु-१९ र सिनियरको एकदिवसीय प्रतियतवगिता हुनेछ। सिनियरका लागि टी-२० प्रतियोगिताको पनि प्रस्ताव गरिएको छ।
योबाहेक पुरुषको दुई दिवसीय प्रतियोगिताको पनि प्रस्ताव गरिएको छ। महिलाका लागि ३०-३० ओभरको चार इनिङ हुने प्रतियोगिताको खेल गराउने पनि प्रस्ताव गरिएको छ।
समितिले नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा गर्ने प्रस्ताव गरेको छ। फ्रेञ्चाइज टिमको आधारमा हुने लिगको मोडलको विषयमा अहिले छलफल भइरहेको छ।
समितिले बुझाएको प्रतिवेदनमा क्यानले अहिले छलफल गरिएको छ। अब १५ दिनपछि बस्ने क्यानको बोर्ड बैठकमा समितिको प्रतिवेदनमा केहि हेरफेर गरेर पारित गर्ने सम्भावना छ।
प्रतियोगिताका लागि चाहिने बजेटका लागि क्यानको आर्थिक समितिले काम गरिरहेको छ। त्यसका लागि प्रायोजकहरूसँग पनि कुराकानी भइरहेको छ।
आर्थिक समिति र प्रतियोगिता समितिको प्रस्ताव बोर्डले पारित गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) लाई पठाइनेछ। आइसिसीले अनुमति दिएपछि प्रतियोगिता सञ्चालन गर्न बाटो खुल्नेछ।
@Setopati