नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दक्षिण एसियाली फुटबल फेडेरसन (साफ) ले नेपाली फुटबललाई अन्याय गरेको बताएका छन् ।
साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्धको फाइनलमा ‘डगआउट’ बस्न प्रतिबन्धमा परेपछि भर्चुअल प्रेस कन्फरेन्समा बोल्दै प्रशिक्षक अल्मुताइरीले साफले आफु र नेपाली फुटबललाई अन्याय गरेको बताएका हुन् ।
प्रशिक्षक अल्मुताइरीले साफले प्रतियोगिताको नियमावली मिचेर आफुलाई प्रतिबन्ध गरेको बताए ।
‘साफले अन्याय गरेको छ । व्यक्तिगत रिसइवीको कारण साफले कारबाही गरेको लाग्छ,’ जुमबाट गरिएको प्रेस कन्फरेन्समा उनले भने, ‘साफले आफ्नो नियमलाई पालना गरेन । मलाई कारबाही गर्न नियम परिवर्तन गर्यो । यो मलाई नभएर नेपाली फुटबलमाथिको कारबाही भएको हो ।’
प्रशिक्षक अल्मुताइरीले नेपाललाई उपाधि जित्नबाट बन्चित गर्न यो समस्या निकालिएको समेत बताए ।
‘मलाई लाग्छ उनीहरु नेपालले जितेको चाहदैन र यो समस्या निकालेको छ । यो मेरो भावना हो तर तपाई साफको महासचिबलाई सोध्नु सक्नु हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘यदि कुनै भारतीय प्रशिक्षकको रातो कार्डबाट दुखी छ भने मलाई खेलबाट प्रतिबन्ध लगाउन आवश्यक छ ?’
प्रशिक्षक अल्मुताइरीले आफ्नो अधिकार र प्रतिबन्धविरुद्ध फिफा, एएफसी र साफमा अपील गर्ने बताए ।
प्रशिक्षक अल्मुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्ध पहेलो कार्ड पाएका थिए । जसको कारण साफले फाइनलमा उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिएको थियो ।
तर, साफको नियमावलीमा भने फरक खेलमा पहेलो कार्ड पाएका खेलाडीलाई मात्र प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छ ।
साफको फाइनलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।