नेपालमा टेनिस खेल्न आएका अस्ट्रेलियाका युवा स्टारको मृत्यु

नेपालमा टेनिस खेल्न आएका अस्ट्रेलियन युवा खेलाडी केन्ट यामाजाकीको बिहीबार निधन भएको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा अभ्यासको क्रममा ढलेका केन्ट उपचारार्थ नजिकै बीएन्डबी अस्पताल लगिएको थियो । उपचार हुँदाहुँदै उनको निधन भएको हो ।

अन्तर्राष्ट्रिय टेनिस महासंघको जुनियर विश्व वरीयता छनोट राउन्ड खेल्न उनी तीन दिनअघि नेपाल आएका थिए । १५ वर्षे उनले बुधबारदेखि अभ्यास सुरु गरेका थिए । छनोट प्रतियोगिता शनिबार र आइतबार हुने कार्यक्रम छ ।

‘स्पाइरिङ पार्टनर कोही नभएपछि उनले त्यहाँ रहेका प्रशिक्षकलाई सोधेका थिए । उनीहरूले अहिले कोही छैनन् भनेर भनेपछि केन्ट कोर्ट नम्बर ६ मा सर्भिस अभ्यास गर्न गएका थिए,’ नेपालका प्रशिक्षक सूर्यभूषण वज्राचार्यले सुनाए ।

नेपाली महिला खेलाडी प्रेरणा कोइराला आफ्‍नाे स्पाइरिङ पार्टनर पर्खेर बसेकी थिइन् । प्रेरणाले खेलिदिन्छु भनेपछि प्रेरणासँग ५ मिनेट खेल्नेबित्तिकै केन्ट एक्कासि ढलेका थिए ।

त्यसपछि उनलाई उपचारार्थ अस्पताल पुर्‍याइएको प्रशिक्षक वज्राचार्यले बताए । अस्पतालले तत्कालै उनलाई मृत घोषित गरेको थियो ।उनको निधनको खबर पाएपछि अस्ट्रेलियाली दूतावासका प्रतिनिधि अस्पताल पुगेका थिए ।

केन्ट आफ्ना बुवासँग छनोट प्रतियोगिता खेल्न नेपाल आएका थिए । प्रशिक्षक सूर्यभूषणले आफ्ना छोरा संरक्षक अस्ट्रेलियामा टेनिस कोर्स पढ्न जाँदा केन्टसँग कलेजस्तरीय प्रतियोगिता खेलेको जनाए

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ