नेपालको लज्जास्पद हार

नेपाल महिला यू २० एसिया कप छनोटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली बिहीबार भएको खेलमा चीनसँग ५–० ले पराजित भएको छ । चीनले पहिलो हाफमै चार गोल गरेको थियो ।

युयाङ युहानले १६ औं मिनेटमा गोलको खाता खोलेकी थिइनेभन होउ युछिनले २६ औं मिनेटमा गोल थपेकी थिइन् । यिन लिहोङले पहिलो हाफको इन्जुरीको दोस्रो र लु ज्यायुलले पाँचौं मिनेटमा गरेकी थिइन् । खेल सकिन १ मिनेट बाँकी रहँदा यु जिकीले गोल गरेपछि नेपाली टोलीले लगातार दोस्रो खेलमा फराकिलो हार बेहोरेको हो ।

नेपाल मंगलबार पहिलो खेलमा घरेलु टोली म्यानमारसँग ५–० ले नै पराजित भएको थियो । नेपालले शनिबारको अन्तिम खेलमा चिनिया ताइपेयीविरुद्ध खेल्नेछ । प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा नेपाल विजेता रहेको थियो । नेपाल समूह ‘बी’ विजेताका रूपमा छनोटको दोस्रो चरण पुगेको थियो ।

यस छनोटबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यू–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।