रियल म्याड्रिड स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ ।
रियलले तेस्रो डिभिजनको युनियनीस्टेस डि सालामान्कालाई ३–१ ले पराजित गर्दै अन्तिम १६ मा पुग्न सफल भएको हो ।
रियलको जितमा वेल्सका फरवार्ड ग्यारेथ बेल र ब्राहिम डियाजले गोल गरे । एक गोल भने आत्मघाती गोल उपहार पाएको थियो ।
सालामान्काका अल्भरो रोमेरोले गरेको गोल सान्त्वना बन्यो ।
खेलका १८औं मिनेटमा बेलले गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए ।
बेलले सेप्टेम्वरपछि रियलका लागि पहिलो गोल गर्न सफल भएका हुन् । मार्सेलोको क्रसलाई सालामान्काका डिफेन्डर गोन्गोराले राम्रोसँग क्लियर गर्न नसकेको बललाई बेलले क्लोज रेन्जमा गोल गर्न सफल भएका थिए ।
५७औं मिनेटमा सालामान्काले बराबरी गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्यायो । अल्भेरो रोमेरोले बराबरी गोल गरेका थिए । ६२औं मिनेटमा जुवान गन्गोराले आत्मघाती गोल गरेपछि रियलले खेलमा पुन २–१ को अग्रता लिन सफल भयो ।
मार्सेलोको ओभरल्यापमा गएर क्रस गरेको बललाई ब्राहिम डियाजले नभेटेपनि गन्गोराले आफ्नै पोस्टमा गोल गर्न पुगेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा क्यासमिरोको पासमा डियाजले गोल गर्दै रियललाई ३–१ को जित दिलाए ।