जापान कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो ।
खेलको ११औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४८औं मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ५१औं मिनेटमा टानकाले गोल गर्दै जापानलाई २-१ को जित दिलाए ।
जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
जापानले ३ खेलमा ६ अंक जोड्यो भने पराजित स्पेनले ३ खेलमा ४ अंक जोड्यो ।
स्पेन पनि समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।