जब एम्बाप्पेले विपक्षी खेलाडीको जर्सी लगाएर सेलिब्रेट गरे

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा फ्रान्स प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो ।

मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेसँगै मैदान मै एउटा रमाइलो दृश्य देखियो । फ्रान्सका केलियन एमबाप्पेले मोरोक्कोका अच्रफ हाकिमीको जर्सी लगाउँदै विजयी खुसियाली मनाएका छन् ।

कतारको अल बेत रंगशालामा भएको सेमिफाइनलमा फ्रान्सले मोरोक्कोलाई २–० गोलले हराउँदै फाइनलामा स्थान बनायो । जितपछि एमबाप्पेले हाकिमीसँग जर्सी साटेर लगाए । उनले हाकिमीको जर्सी लगाएर खुसियाली मनाए । तर विश्वकपको उपाधि दौडबाट बाहिरिएको मोरोक्कोका हाकिमी भने एमबाप्पेको जर्सी लगाउँदै मैदानबाट बाहिरिए ।

हाकिमी र एमबाप्पेले व्यवसायिक फुटबल भने एउटै क्लबबाट खेल्छन् । त्यही भएर एमबाप्पे र हाकिमीबीच राम्रो सम्बन्ध छ । एमबाप्पे र हाकिमी पेरिस सेन्ट जर्मेनबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् ।

अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे ।

आइतबार हुने फाइनल खेल उसले अर्जेन्टिनाविरूद्ध खेल्नु पर्नेछ । अर्जेन्टिना मंगलबार रातीको पहिलो सेमिफाइनलमा क्रोएसियलाई ३–० गोलले पराजित गर्दै फाइनल पुगिसकेको छ ।