बोलोग्नामाथि जित निकाल्दै एसी मिलान सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । मिलानले ९ खेलाडीमा समेटिएको घरेलु टोली बोलोग्नामाथि ४–२ को रोमाञ्चक जित निकाल्दै शीर्षस्थानमा उक्लिन सफल भएको हो ।
एसी मिलानका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले भने बोलोग्ना र एसी मिलान दुबै टोलिका लागि एक एक गोल गरे, उनले बोलोग्नाका लागि आत्मघाती गोल गरेको थियो ।
बोलोग्नामा शनिबार राति भएको खेलमा मिलानले खेलको १६औं मिनेटमा राफयल लियोको गोलबाट अग्रता लिएको थियो । उनले ज्लाटन इभ्राहिमोभिचको पासमा गोल गरेका थिए । २०औं मिनेटमा एडमा सोउमाओरो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली दवावमा परेको थियो ।
तर, दोस्रो हाफमा घरेलु टोलीले चार मिनेटको अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । ३५औं मिनेटमा डाभिड कालाब्रियाले गोल गर्दै मिलानलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४९औं मिनेटमा ज्लाटन इब्राहिमोभिचले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा पुगेको थियो । ५२औं मिनेटमा मुसा बारोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
५८औं मिनेटमा रोबर्टाे सोरियानो पनि सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बोलोग्ना थप समस्यामा पर्दा त्यसको फाइदा मिलानले उठाउन सफल भयो । ८४औं मिनेटमा इस्माइल बेनासेरले गोल गर्दै मिलानलाई ३–२ ले अघि बढाए । अन्तिम मिनेटमा ज्लाटन इभ्राहिमोभिचले गोल गर्दै मिलानलाई ४–२ को रोमाञ्चक जित दिलाए ।
जितपछि शीर्षस्थानमा उक्लिएको मिलानको ९ खेलबाट २५ अंक पुगेको छ । एक खेल कम खेलेको नेपोलीको २४ अंक छ । पराजित बोलोग्ना १२ अंक जोडेर नवौं स्थानमा रहेको छ ।