एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा गोल्डेन बुट दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अग्रता कायमै राखेका हुन् । गएराति सम्पन्न मोरक्कोविरुद्धको सेमिफाइनल खेलमा फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले गोल गर्न नसक्दा मेस्सीले अग्रता कायमै राखेका हुन् ।
मोरक्कोविरुद्ध एमबाप्पेले एक गोल गरेको भए मेस्सी पछि पर्ने सम्भावना थियो । सेमिफाइनल सकिँदासम्म यी दुवै स्टारले समान ५ गोल गरेका छन् । यद्यपि असिस्ट बढी गरेकाले मेस्सी गोल्डेन बुट दौडमा शीर्ष स्थानमा छन् । मेस्सीले ६ खेलमा ५ गोलका साथै तीन असिस्ट गरेका छन् ।
मेस्सीले साउदी अरेबिया, मेक्सिको, नेदरल्याण्ड्स र क्रोएसियाविरुद्ध एकरएक गोल गरेका छन् । मेस्सीले पोल्याण्डविरुद्ध मात्र गोल गर्न सकेका थिएनन् । उनी चार खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन् । त्यस्तै, एमबाप्पेले ६ खेलमा ५ गोल गर्दा दुई असिस्ट गरेका छन् ।
समूह चरणअन्तर्गत समूह ‘डी’ मा फ्रान्सका लागि पहिलो खेलमा अष्ट्रेलिया विरुद्ध एक गोल गरेका एमबाप्पेले दोस्रो खेलमा डेनमार्कविरुद्ध दुई गोल गरे । तेस्रो खेलमा भने उनले ट्युनिसियाविरुद्ध गोल गर्न सकेनन् । यद्यपि उनले सो खेलमा दुई असिस्ट दिएका थिए । प्री क्वाटरफाइनलमा पोल्याण्डविरुद्ध २ गोल गरेका एमबाप्पेले इंग्ल्याण्ड र मोरक्कोविरुद्ध भने गोल गर्न सकेनन् ।
जारी विश्वकपमा गोल्डेन बुट दौडको तेस्रो स्थानमा फ्रान्सका स्ट्राइकर ओलिभर जिरुड र अर्जेन्टिनाका जुलियन अल्भारेज छन् ।यी दुवै खेलाडीले चार/चार गोल गरेका छन् । विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट दिने प्रचलन छ । यसपटक यो अवार्डका लागि मेस्सी, एमबाप्पे, जिरुड र अल्भारेज मात्र प्रतिस्पर्धामा छन् । उनीहरूलाई पछ्याइरहेका खेलाडीको टिम विश्वकपबाट बाहिरिसकेका छन् ।