गुठी विधेयक विरुद्ध गृहमन्त्रीकाे राजीनामा माग्दै नेविसंघको मसाल जुलुस

सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आइतवार माइतीघरमा गरिएको प्रर्दशनमा प्रहरीलेे दमन गरेको भन्दै विरोधमा मसाल जुलुस निकालिएको छ।

आज बेलुकी असन, इन्द्रचोक, न्यूरोड हुँदै लगन पुगेर कोणसभा गर्दै मसाल जुलुस निकालिएको हो। लगनबाट सुरु भएको मसाल जुलुस बसन्तपुर पुगेर सम्पन्न भएको थियो।
मसाल जुलुसका क्रममा सहभागी गुठीयारहरुले प्रहरीले दमन गरेको गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका थिए।

कोणसभामा बोल्दै नेवा: देय् दबूका अध्यक्ष नरेश ताम्राकारले सरकारले गुठी विधेयकबाट नेपालको धर्म संस्कृतिमाथि प्रहार गरेको आरोप लगाउँदै भने, ‘सरकार होली वाइनलाई बढावा दिँदै नेपालीपन नामेट पार्ने प्रयास गरिरहेको छ। यसको विरुद्ध हामी सशक्त संघर्ष गर्छौं।’

कार्यक्रममा सहभागी प्रदेश ३ का सांसद विराजभक्त श्रेष्ठले यो विधेयक ल्याएर सरकारले राजनीतिक रुपमा नै भ्रष्टाचार गर्न खोजेको बताए। उनले यो विधेयक मानेर मेटिएर जानुभन्दा मरेर जानु राम्रो भन्दै आज माइतीघरमा प्रहरीले गरेको दमनको विरोध गरे।

नेवा: दय् दबू लगायतका संघ संस्थाले यो आन्दोलन सुरुवात मात्रै भएको भन्दै सरकारले विधेयक फिर्ता नलिए थप संघर्ष गर्ने बताए।