‘गलबन्दी’ गीत विवाद टुंगियो; दुबै पक्ष बिच ४ बुँदे सहमति

‘गलबन्दी’ गीतको विवाद अन्तत दुई पक्ष बिच ४ बुँदे सहमतिमा टुंगिएको छ । प्रतिलिपि अधिकार रजिस्टारमा भएको छलफल सहमतिमा आएको हो ।

गलबन्दी गीतको विवादबारे प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा शम्भु राई र प्रकाश सपुतवीच ४ बुँदे सहमति  अनुसार, अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ भने पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम समावेश हुनेछ।अन्य विभिन्न प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमतिमा पुगेको हो।

यस्तै गलबन्दी गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ । यसमा शम्भु राइले कुनै पनि दाबी नगर्ने सहमति भएको छ ।

गायक शम्भु राई र प्रकाश सपुतवीच गीतको लयका विषयमा व्यक्तिगत र संसार माध्यम लफडा चलिरहेको थियो ।

‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेका थिए । लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेको भन्दै शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए ।

राईले कानुनी उपचार खोज्दै दिएको उजुरी फिर्ता लिने सहमति पनि दुई गायकवीच भएको छ । यो ४ बुँदे सहमतिसँगै ‘गलबन्दी’ गीत विवादमा सकेको छ।