नेमारलाई विपक्षी फ्यानहरूबाट बचाउन प्रहरीको प्रयोग गर्न परे पछि

फ्रेन्च लिग वानमा मार्से र पेरिस सेन्ट जर्मेन बिचको खेल निकै तनावपूर्ण बनेको थियो। दुई प्रतिद्वन्द्वी बिचको खेल फ्यानहरूको कारण धेरै अवरोध भएको थियो भने मार्सेका फ्यानहरू पिएसजीका सुपरस्टार नेमारलाई लक्षित गर्दै थिए।

ब्राजिलियनलाई स्टारलाई बाधा पुर्‍याउन फ्यानहरूले खाली प्लास्टिकका बोतलहरू र कपहरू र फोहोरका अन्य टुक्राहरू फाले भने कर्नर लिने क्रममा उनलाई उक्त आक्रमणबाट बचाउन प्रहरीहरू सक्रिय हुन परेको थियो। फ्यानहरूले फ्यालेको कुराबाट नेमारलाई बचाउन प्रहरीहरूले दङ्गा हुँदा प्रयोग गर्ने ढालहरू प्रयोग गरे।

उक्त खेलमा फ्यानहरू बिच मतभेद हुन सक्ने बारे अधिकारीहरूलाई थाहा थियो भने उक्त खेल हेर्न स्टेडियममा पिएसजीका फ्यानहरूलाई प्रतिबन्ध लगाएको थियो तर मार्सेका फ्यानहरूले भने पिएसजीका खेलाडीहरूलाई लक्षित गर्न पुगे।

खेलको क्रममा एक फ्यान मेस्सी सँग भेट्न मैदान मै पुगे भने उक्त फ्यानलाई सुरक्षा गार्डहरूले रोकेको थियो।

उक्त खेल भने बराबरीमा अन्त्य भएको थियो । दुवै टोलीको गोलले मान्यता नपाउँदा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

मार्सेमा आइतबार राति भएको खेलको १४औँ मिनेटमा लुआन पेरेसले गोल गरे पनि उनको गोलले भिएआरबाट मान्यता पाएन । २०औँ मिनेटमा एर्काडिअस मिलिकले गोल गरे पनि उनको गोलले पनि भिएआरबाट मान्यता पाएन ।

५७औँ मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । तर त्यसको फाइदा घरेलु टोली मार्सेले उठाउन सकेन ।

यो बराबरीपछि पीएसजी ११ खेलबाट २८ अङ्क जोडेर शीर्षस्थानमा यथावत् रहँदा मार्से १८अङ्क जोडेर शीर्ष चारमा रहेको छ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ