क्रोएसियाविरुद्ध नयाँ किर्तिमान रच्ने मेस्सीलाई अवसर

एजेन्सी । कतारमा भइरहेको फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले आज क्रोएसियासँग खेल्दैछ । यी दुई टोलीबीचको खेल राति १२ः४५ देखि सुरु हुनेछ । क्रोएसियायी र अर्जेन्टिनाले क्वार्टरफाइनलमा क्रमशः ब्राजिल र नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई ४–२ ले हरायो । त्यस्तै, अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई ४–३ ले पराजित गर्‍यो । अर्जेन्टिनाले ८ वर्षपछि विश्वकप सेमिफाइनल खेलिरहेको हो । क्रोएसियाले भने लगातार दोस्रोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

हालसम्म अर्जेन्टिना र क्रोएसियाले पाँच खेलमा एकअर्काको सामना गरेका छन् । जसमा दुवै टिमले दुई/दुई खेलमा जित निकालेका छन् । अर्जेन्टिना र क्रोएसियाले अहिलेसम्म एक खेलमा भने बराबरी खेलेका छन् । आजको खेलमा सानदार लयमा रहेका अर्जेन्टिना कप्तान लियोनल मेस्सीले खेल्ने पक्का जस्तै छ । क्रोएसियाविरुद्ध मैदान प्रवेश गरेलगत्तै उनले नयाँ उपलब्धि हासिल गर्ने छन् ।

उनले आज विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको उपलब्धि हासिल गर्न लागेका हुन् । अहिलेसम्म विश्वकप फुबटलमा सर्वाधिक म्याच खेल्ने रेकर्ड जर्मनीका लोथर मथाउसको नाममा छ । आज मैदान उत्रिएपछि मेस्सी पनि विश्वकपमा २५ म्याच खेल्ने खेलाडी बन्ने छन् ।

यदि अर्जेन्टिनाले सेमिफाइनल खेल जिते फाइनलमा मथाउसलाई पछि पार्दै मेस्सी विश्वकपमा २६ म्याच खेल्ने एक्लो खेलाडी बन्ने छन् । विश्वकपमा सर्वाधिक खेल खेल्ने सूचीको तेस्रो स्थानमा जर्मनीका पूर्वखेलाडी मिरोस्लाभ क्लोज छन् । उनले विश्वकपमा २४ खेल खेलेका थिए ।