के बार्साले अहिले सम्म युरोपा लिग जितेको छ?

च्याम्पियन्स लिग अन्तर्गत बुधवार राती भएको समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले बार्यन म्युनिक सँगको हार पछि युरोपा लिगमा घटुवा भएको छ र अब युरोपको दोस्रो तहको कप जित्ने नै बार्साको उद्देश्य हुने छ तर, के बार्साले हाल सम्म कहिले युरोपा लिग जितेको छ?

२०००/०१को सिजन पछि बार्सा पहिलो पटक च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल भएको हो भने अन्तिम पटक २००३/०४ सिजनमा बार्साले युरोपको दोस्रो तहको प्रतियोगिता खेलेको थियो।

पाँच पटक च्याम्पियन्स लिग जितेको बार्सिलोनाले यूईएफए कप ११ पटक खेले पनि जितेको छैन। बार्साले रिब्रान्डिङ भएको युरोपा लिग भने हाल सम्म खेलेको छैन उक्त प्रतियोगिताको नाम पहिले यूईएफए कप रहेको थियो भने २००९मा सो प्रतियोगिताको नाम युरोपा लिग राखिएको थियो।

युरोपा लिग वा त्यो समय यूईएफए कप भनेर चिनिने प्रतियोगितामा बार्सा ४ पटक भने सेमी फाइनल सम्म पुगेको छ। बार्साले यूईएफए विनर्स कपमा भने धेरै राम्रो गरेको छ। यूईएफए विनर्स कप ४ पटक जित्दै बार्साले हाल निष्क्रिय रहेको उक्त प्रतियोगितामा राम्रो रेकर्ड राखेको छ। यूईएफए विनर्स कप १९६० देखि १९९९ सम्म युरोपको दोस्रो तहको प्रतियोगिताको रुपमा रहेको थियो र १९९९मा उक्त प्रतियोगितालाई यूईएफए कप सँग मर्ज गरिएको थियो।

बार्यनको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३-० को पराजित भयो । खेलमा बार्यनका लागि मुलर, साने र मुसियालाले एक एक गोल गर्दै बार्यन म्युनिकलाई जित दिलाएको हो ।

बार्सिलोनाले जित अथवा एउटै समूहको अर्को खेलमा बेन्फिकाले डिनोमो किएभ विरुद्ध हारे बार्सा अर्को चरणमा पुग्ने थियो । तर, अर्को खेलमा बेन्फिकाले २-० को जित निकाल्दै दोस्रो स्थान पक्का गर्दै अर्को चरणको यात्रा तय गरेको छ ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ