एस्टन भिल्लामाथी चेल्सीको पुनरागमन जित

इंग्लिस प्रिमियर लिगमा घरेलु टोली एस्टन भिल्लामाथि चेल्सीले पूनरागमन जित निकालेको छ । चेल्सीले भिल्लालाई ३–१ ले हराएको हो ।

चेल्सीको जितमा इटालियन मिडफिल्डर जर्गिन्होको दुई तथा बेल्जियन फरवार्ड रोमेलु लुकाकुले एक गोल गरे । भिल्लाले एक गोल उपहार पाएको थियो ।

भिल्ला पार्क बर्मिङघममा आइतबार राति भएको खेलको २८औं मिनेटमा रिस जेम्सको आत्मघाती गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । ओले वाट्किन्सको क्रसमा माट टार्गेटले भेट्नुअघि रिस जेम्स र गोलरक्षक इडुआर्ड मेन्डीबीच तालमेल नमिल्दा जेम्सले क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

तर, घरेलु टोलीको त्यो अग्रता लामो समय टिकेन । ३४औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । कलुम हड्सन ओडोइलाई पेनाल्टी बक्समा माट्टी कासले फउल गरेपछि रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो ।

५६औं मिनेटमा रोमेलु लुकाकुले ओडोईको पासमा गेल गर्दै चेल्सीलाई खेलमा २–१ को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा जर्गिन्होले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीको जित पक्का गरे । लुकाकुले टार्गेटलाई बिट गर्दै बल अघि बढाउँदा इज्री कोन्साले लुकाकुमाथि अनावश्यक फउल गर्न पुग्दा रेफ्रीले चेल्सीलाई पेनाल्टी प्रदान गरेको थियो ।

चेल्सीको यो लगातार दोस्रो जित हो । त्यसअघिको दुई खेलमा चेल्सी रोकिएको थियो । टचलाइनमा स्टेभन जेरार्ड नहुँदा भिल्लालाई दवाव बढेको थियो । कोरोना संक्रमणका कारण जेरार्ड सेल्फ आइसोलेसनमा रहेका छन् ।

जितसँगै चेल्सी तेस्रो स्थानमा यथावत रहँदा दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गरेको छ । चेल्सीको १९ खेलबाट ४१ अंक छ । एक खेल कम खेलेको लिभरपुलको पनि ४१ अंक नै छ । पराजित भिल्ला २२ अंक जोडेर ११औं स्थानमा छ ।