एम्बाप्पेले पिएसजीसंग सम्झौता नवीकरण नगर्ने

एम्बाप्पेले पिएसजीमा आफ्नो सम्झौता नवीकरण नगर्ने निर्णय गरेका छन् ।

फ्रेन्च मिडियाहरुका अनुसार २०२४ को अन्त्यसम्म रहेको उनको क्लबसँगको सम्झौता नवीकरण नगर्ने निर्णय गरेसँगै उनको अब यसै ट्रान्सफर विन्डोमा पिएसजीबाट बहिर्गमन हुने अनुमान गरिएको छ ।

एम्बाप्पेसँग एक बर्ष सम्झौता नवीकरण गर्ने अधिकार रहेको छ । तर मिडिया रिपोर्टमा एम्बाप्पेले एक पत्र लेख्दै सो अधिकार प्रयोग नगर्ने जानकारी दिएको उल्लेख गरिएको छ ।

पिएसजीले यस सिजनमा एम्बाप्पेलेलाई नबेचेमा अर्को सिजन फ्री-ट्रान्सफर हुने हुनाले क्लब व्यवस्थापन दबाबमा आएको छ ।

एम्बाप्पेको यो कदमपछि पिएसजी व्यवस्थापनले उनलाई थप आकर्षक प्याकेज अफर गर्ने तयारी गरेको बताइएको छ । तर एम्बाप्पे क्लबले पछिल्लो समयमा चालेका कदमप्रति खुशी नभएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

एम्बाप्पेका लागि रियल म्याड्रिडले केहि बर्षदेखि नै विशेष चासो राख्दै आएको छ । २०२१ मा रियल म्याड्रिडसँग सम्झौता हुने अन्तिम तयारीका बिच एम्बाप्पेले पिएसजीमा सम्झौता नवीकरण गरेका थिए ।

अब पिएसजीसँग एम्बाप्पेलाई राम्रो रकममा बेच्ने विकल्प बचेको विश्लेषण गरिएको छ ।

एम्बाप्पेको यो कदमसँगै पिएसजीले एकै समयमा लियोनेल मेसी, नेइमार र एम्बाप्पेलाई गुमाउन सक्ने देखिएको छ । नेइमारलाई पनि साउदी क्लबले भित्र्याउने प्रयास गरिरहेका छन् ।