एभरेस्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणमा विदेशी खेलाडीका लागि एकल अधिकार राखिएको छ । त्यसअनुसार नेपालको अन्य लिगमा पछिल्लो दुई वर्षदेखि खेल्दै आएका विदेशी खेलाडीले ईपीएलमा खेल्न नपाउने भएका हुन् ।
ईपीएल आयोजकले बिहीबार आउँदो सत्रबाट लागू हुने गरी यो नियम लगाएको छ । पछिल्लो दुई वर्षमा नेपालका अन्य दुई फ्रेन्चाइज लिग धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिगमा खेलेका विदेशी खेलाडीले ईपीएलमा खेल्न पाउने छैनन् । साथै विदेशी खेलाडीका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) ल्याउनुपर्ने भएको छ ।
Meroghar
यसले भारतबाट कुनै खेलाडी आएर ईपीएलमा खेल्न पाउने छैनन् । भारतले आफ्ना अनुबन्धित खेलाडीलाई अर्को देशमा गएर लिग खेल्ने दिने गरेको छैन । नेपाल आएर खेल्ने खेलाडीहरू अधिकांश अनुबन्धन बाहिरका हुन् । एनओसी नहुने भएपछि भारतका अनुबन्धबाहिरका खेलाडीले पनि ईपीएलमा खेल्न पाउने छैनन् ।
गत वर्ष ललितपुर प्याट्रियट्सलाई उपाधि दिलाउन सन्नी पटेल, जयकिसन कोल्सावाला, गौरव तोमारले ठूलो भूमिका खेलेका थिए । ईपीएलको नयाँ नियमले पटेल, कोल्सावाला, तोमारसहित पछिल्लो सिजन ईपीएलमा खेलेका भारतीय खेलाडी रविइन्दर सिंह, पुनीत मेहरालगायतले यसपालि काठमाडौंमा हुने फ्रेन्चाइज लिगमा खेल्न पाउने छैनन् ।
सिंह नेपाली फ्रेन्चाइज लिगमा शतक बनाउने एक्लो विदेशी खेलाडी हुन् । उनले अविजित १ सय २५ रन बनाएपछि गत वर्ष भैरहवा ग्लाडियटर्सले १९.४ ओभरमा २ सय १६ रन बनाउदै पोखरा राइनोजसँगको खेल २ बलअगाडि जितेको थियो । फागुन १७ देखि चैत १ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भनिएको प्रतियोगिता चैत १ देखि १५ सम्मलाई सारिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ईपीएलको नयाँ मितिलाई स्वीकृति दिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट स्वीकृति पाउन पत्रचार गरिसकेको ईपीएलले जनाएको छ । ईपीएलको विज्ञप्तिमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
स्थानीय १८ खेलाडीलाई ईपीएलले ‘ए’ समूहमा वर्गीकरण गरेको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, शरद भेषावकर, आरिफ शेख, सन्दीप लामिछाने, रोहित पौडेल, ललितनारायण राजवंशी, कुशल भूर्तेल, सुवास खकुरेल, पवन सर्राफ, वसन्त रेग्मी, प्रदीप ऐरी, सुसन भारी, अविनाश बोहरा र सोमपाल कामी यो वर्गीकरणमा परेका छन् । ईपीएलले राष्ट्रिय टोली र घरेलु प्रतियोगिताबाट हालै गरेको प्रदर्शनका आधारमा खेलाडीको वर्गीकरण गरेको ईपीएलले जनाएको छ ।
यस वर्गीकरणमा परेका खेलाडी न्युनतम २ लाख रुपैयाँमा अर्को टिममा जानसक्ने छन् । त्यसमा जुन टोलीले खेलाडी राखेको हुन्छ त्यो टोलीले आफूलाई आएको भाउ स्विकारेमा खेलाडीलाई अर्को टोलीमा पठाउन सक्ने प्रावधान बनाइएको छ । त्यसमा ६० प्रतिशत खेलाडी र ४० प्रतिशत रकम फ्रेन्चाइज खेलाडीको खातामा जानेछ । खेलाडी ट्रेडलाई वैकिल्पक राखिएको छ र एउटा टोलीले यो नियमअनुसार बढीमा २ खेलाडीमात्र लिन र बेच्न सक्नेछ । ट्रेड विन्डो जनवरी २ देखि ९ सम्म राखिएको छ ।
‘ए’ वर्गीकरणमा नरहेका खेलाडीको हकमा पुरानै नियम यथावत् राखिएको छ । खेलाडीहरूको ट्रेड पहिलोपल्ट नेपाली क्रिकेटमा राखएको र यसले स्टार नेपाली खेलाडीलाई राम्रो मूल्य दिलाउने विश्वास ईपीएलका अध्यक्ष आमिर अख्तरको छ ।
@Katipur