एन्फाले गर्यो नेपाल यु-२३ टिमको बिदाइ

काठमाडौं, एएफसी यु-२३ एसियन कप छनोटका लागि ताजकितान जाने नेपाली टोलीको बिदाई गरिएको छ । नेपाली टोलीलाई साेमबार युवा तथा खेदकुद मन्त्री महेश्वरजंग गहतराज, अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उमेन्द्रमान सिंह, एन्फा कार्यवहाक महासचिव अरुणमान जोशी लगायतले बिदाई गरे ।

नेपाली टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछ । नेपालले शुक्रबार इन्डोनेसियाको यु-२३ टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ । 

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले पर्याप्त तयारीको समय नपाएपनि साफ च्याम्पियनसिप उपविजेता टोलीका ६ खेलाडीको आगामनले टोलीको मनोबल बढेको बताए । महर्जनले आफुहरुको लक्ष्य उत्कृृष्ट पाँच उपविजेता भित्र पर्दै सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने रहेको बताए ।

प्रतियोगिताका लागि महर्जनले आइतबार साफ च्याम्पियनसिप उपविजेता टोलीका ६ खेलाडीलाई समावेश गर्दै  २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका थिए ।

समूह ’बी’ मा रहेको नेपालले पहिलो खेलमा कार्तिक आठमा इरानसँग खेल्ने छ भने दोस्रो खेल कार्तिक ११ मा आयोजक ताजकिस्तान र अन्तिम खेल कार्तिक १४ मा लेबननसँग खेल्नेछ ।

छनोट चरणमा ११ समूह रहेका छन् । जहाँबाट प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट पाँच उपविजेता गरि १६ टोली सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने एएफसी यु-२३ एसियन कपमा छनोट हुनेछ ।