इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारहरुसँग माफी मागेका छन् । उनले आफूले आवेशमा आएर अशब्द बोलेका कुरा फिर्ता लिएको जनाउँदै चौधरीले आइतवार बेलुका विज्ञप्ति निकालेर दुःख व्यक्त गरेका हुन्।
मेयर चौधरीले आफू लामो राजनीतिक यात्रापछि यहाँ आइसकेको बताउँदै दुई कार्यकाल जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेको स्मरण गरेका छन् । २४ वर्षको उमेरमै तत्कालीन हाँसपोसा गाउँविकास समितिको दुई कार्यकाल अध्यक्ष भएर परीक्षण भइसकेको छु। उनले विज्ञप्तिमा भनेका छ : म उद्दण्ड हुँदै होइन, एक अनुशासित व्यक्ति हुँ।
आवेगजन्य परिस्थितिका कारण आफूले पत्रकार अनुपम र अन्य पत्रकारको बिपक्षमा बोलेको कुरा पनि मेयर चौधरीले फिर्ता लिएको बताएका छन्। मेरो भनाइबाट उहाँ र सञ्चारजगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु। सञ्चारजगतप्रति चोट पुर्याउने मेरो कुनै मनासय छैन र आगामी दिनमा पनि रहने छैन।