अर्जेन्टिना भर्सेस क्रोएसिया : हेड टु हेड

ढोहा । कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । अर्जेन्टिना–क्रोएसियाबीचको खेल आज राति १२ः४५ देखि लुसेल स्टेडियममा सुरु हुनेछ । यी दुई टिमले क्वार्टरफाइनलमा विपक्षी टोलीलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

क्वार्टरफाइनलमा क्रोएसियाले ब्राजिललाई ४–२ ले हरायो । त्यस्तै, अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई ४–३ ले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गर्‍यो । उच्च लयमा रहेका यी दुवै टिमको सेमिफाइनल प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । अर्जेन्टिनाले ८ वर्षपछि विश्वकप सेमिफाइनल खेलिरहेको हो ।

गत संस्करण उपविजेता क्रोएसियाले भने लगातार दोस्रोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । अर्जेन्टिना र क्रोएसिया उत्कृष्ट खेल्दै फाइनलको यात्रा तय गर्न चाहन्छन् । हालसम्म अर्जेन्टिना र क्रोएसियाले पाँच खेलमा एकअर्काको सामना गरेका छन् । जसमा दुवै टिमले दुई/दुई खेलमा जित निकालेका छन् ।

अर्जेन्टिना र क्रोएसियाले अहिलेसम्म एक खेलमा भने बराबरी खेलेका छन् । सन् १९९० मा पहिलोपटक एकअर्काविरुद्ध खेलेको सो खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसपछि यी दुई टिमले सन् १९९८ मा एकअर्काविरुद्ध खेले । सो विश्वकप फुटबल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई १–० ले हराएको थियो ।

१९९८ पछि अर्जेन्टिना र क्रोएसियाले २००६ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेले । जहाँ क्रोएसियाविरुद्ध अर्जेन्टिना ३–२ ले पराजित भयो । त्यसपछि यी दुई टिमले २०१४ मा पनि मैत्रीपूर्ण म्याच खेले । सो खेलमा भने क्रोएसियाविरुद्ध अर्जेन्टिना २–१ ले विजयी भयो ।

अर्जेन्टिना र क्रोएसियाले २०१८ को विश्वकपमा पनि एकअर्काविरुद्ध खेले । सो समूह चरणको खेलमा क्रोएसियाविरुद्ध अर्जेन्टिना ३–० ले स्तब्ध भयो । यसपालि पनि क्रोएसिया सोही जित यात्रालाई निरन्तता दिन चाहन्छ । अर्जेन्टिना भने गत विश्वकपको हारको बदला लिँदै फाइनलको यात्रा गर्ने सोचमा छ ।