म्यान्चेस्टर युनाइटेडको अर्को लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडले लिगकप उपाधिको रक्षा गर्ने सम्भावना बुधबार निराशाजनक रूपमा समाप्त भएको छ र उसलाई न्युकासल युनाइटेडले उसकै घर ओल्ड ट्रायफोर्डमा ३–० ले पराजित गरेको छ ।

न्युकासलका लागि म्यागुएल अल्मिरोन, लेविस हल र जोए विलकले गोल गरे ।

आर्सनल पनि प्रतियोगिताबाट बाहिरिएको छ र उसलाई भने वेस्ट ह्यामले ३–१ ले हरायो ।

लिभरपुलले भने बर्नमाउथलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गर्‍यो। यस्तै चेल्सीले च्याम्पियनसिप प्रतिद्वन्द्वी ब्ल्याकबर्नलाई २–० ले पन्छायो ।

गत सिजनको लिगकप फाइनलमा युनाइटेडले न्युकासललाई नै पराजित गर्दै उपाधि जितेको थियो । त्यसको पुनरावृत्तिका रूपमा भएको खेलमा भने न्युकासल बलियो देखियो ।

यसक्रममा युनाइटेडले सबै खाले प्रतियोगिताका पछिल्ला १५ खेलमा आठौं हार बेहोर्‍यो र व्यवस्थापक एरिक टेन ह्याग दबाबमा रहे ।

सन् १९६२–६३ यता युनाइटेडको यो अहिलेसम्मकै खराव सुरुआत हो । प्रतियोगिताका अन्य खेलमा एभरटनले बर्नलीलाई ३–० र फुलहमले इपस्विच टाउनलाई ३–१ ले हरायो ।