बार्सिलोनाको फराकिलो जित

स्पेनिस लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित हासिल गरेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको रियल मलोर्कामाथि ३–० को सहज जित हात पारेको हो । बार्सिलोनाका जितमा अन्सु फातीले दुई तथा पाब्लो गाभीले एक गोल गरे ।

स्पोटिफाई क्याम्प नोउमा आइतबार राति भएको खेलको पहिलो मिनेटमा नै फातीको गोलबाट बार्सिलोना अघि बढेको थियो । उनले गाभीको पासमा गोल गर्न सफल भएका थिए ।

१४ औं मिनेटमा मलोर्का १० खेलाडीमा समेटिन पुग्यो । एमाथ डिआए सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा बार्सिलोनालाई थप सहज स्थिति बन्यो ।

२४ औं मिनेटमा फातीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि ७० औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनाको सहज जित पक्का गराए । गाभीले र्आसमाने डेम्वेलेको पासमा गोल गर्न सफल भएका थिए ।

यस जितले च्याम्पियन बनिसकेको बार्सिलोनाको ३७ खेलबाट ८८ अंक पुगेको छ । मलोर्का ४७ अंक जोडेर १२ औं स्थानमा छ ।